इन्फा अवार्डमा यी हुन् विजेता

काठमाडौं । राजधानीमा शनिबार सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) मा निर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भएका छन् । अवार्डमा मिरुना मगर उत्कृष्ट अभिनेत्री, नविन चौहान उत्कृष्ट निर्देशक तथा ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भए । त्यस्तै पल शाह लोकप्रिय अभिनेता र जसिता गुरुङ लोकप्रिय अभिनेत्री घोषित भए।

इन्फा इभेन्ट्स नेपाल र इन्फा इभेन्ट्स यूकेको संयुक्त आयोजनामा भएको कार्यक्रममा २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी फिल्ममध्ये विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको थियो। ती मनोनयनबाट निर्णायक मण्डलले उत्कृष्ट विजेता चयन गरेको आयोजकले जनाएको छ।

अवार्डको निर्णायक मण्डलमा हरिहर शर्मा जुरी संयोजक तथा गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा जुरी सदस्य रहेका थिए।
संगीत विधातर्फ (‘काफ्ले’बाट झुमा लिम्बु उत्कृष्ट पार्श्व गायिका ‘‘फुलहरु’बाट सुजन चापागाईंले उत्कृष्ट पार्श्व गायकसँगै उत्कृष्ट संगीतकारको अवार्डसमेत जिते। सोही फिल्मका लागि हर्क साउद उत्कृष्ट गीतकार घोषित भए।

‘जेरी अन टप’बाट मोहक श्रेष्ठ उत्कृष्ट पार्श्व संगीत (बीजीएम), निमेश श्रेष्ठ उत्कृष्ट सम्पादन तथा दुलिप रेग्मी उत्कृष्ट छायाँकार घोषित भए।

त्यस्तै रामजी लामिछानेले ‘मोहर’को ‘‘चाहिँदैन’गीतका लागि उत्कृष्ट नृत्य निर्देशकको अवार्ड पाए भने ‘‘राम नाम सत्य’बाट श्री श्रेष्ठ उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड जित्न सफल भए ।

‘दि ब्लू लाइट’बाट सृष्टि श्रेष्ठ उत्कृष्ट खलपात्र, ‘अभिमन्यु’बाट प्रकाश दाहाल उत्कृष्ट सह–अभिनेता तथा ‘जेरी अन टप’बाट आँचल शर्मा उत्कृष्ट सह–अभिनेत्री घोषित भए।

‘हर्ष’बाट सन्तोष पन्त उत्कृष्ट चरित्र अभिनेता र ‘श्री बुकुरो’बाट लक्ष्मी गिरी उत्कृष्ट चरित्र अभिनेत्री बनिन्। त्यस्तै ‘झरिपछिको इन्द्रेणी’बाट बिमोचन दवाडी उत्कृष्ट नव–अभिनेता तथा ‘माइतीघर’बाट श्यामाश्री शेर्पा उत्कृष्ट नव–अभिनेत्री घोषित भइन्। उषा उप्रेतीले इन्करेजमेन्ट अवार्ड–अभिनेत्री प्राप्त गरिन्। कविता नेपालीले भने ‘पर्फमर अफ द इयर’को अवार्ड प्राप्त गरिन्।

जुरी अवार्डतर्फ ‘सिटामोल’बाट सौगात मल्ल जुरी अवार्ड–अभिनेता घोषित भए। ‘रमिताको पिरती’बाट शुदिप्ता अधिकारीले जुरी अवार्ड–निर्देशक प्राप्त गरिन् भने ‘गुन्यो चोलो’ले जुरी अवार्ड–फिल्मको सम्मान प्राप्त गर्‍यो।

‘ऊनको स्वीटर’बाट नविन चौहान उत्कृष्ट निर्देशकसँगै उत्कृष्ट पटकथाको अवार्डसमेत जित्न सफल भए। कार्यक्रममामा कलाकार मदनकृष्ण श्रेष्ठलाई नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदानको सम्मानस्वरूप लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो।

अवार्ड समारोहमा पल शाह, उषा उप्रेती, कविता नेपाली, तेरिया मगर, एलिशा शर्मा, बाबुल गिरी, रिह्यान गिरी, समर्पण लामा तथा मिङ्मा डी लेप्चालगायतका कलाकारले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए।

समारोह इन्फा इभेन्ट्स नेपालका अध्यक्ष सुनिल श्रेष्ठ तथा इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेशराज मोक्तानको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा बोर्ड अफ डाइरेक्टर तथा अवार्ड कोर्डिनेटर मनिष कार्कीसहित आशिष पन्त, टंक भट्टराई, मनोज केसी, राज पाण्डे र शुष्मा पौडेलको टिम सक्रिय थियो।