कबड्डी ५ पोस्टरमा गम्भीर दयाहाङ, विजय र बुद्धि

काठमाडौं । फिल्म ‘कबड्डी’को पाँचौँ शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आगामी दशैंको टीकाको पर्सिपल्ट अर्थात् कार्तिक ६ गतेदेखि प्रदर्शन हुने भएको छ । शुक्रबार निर्माण टिमले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक ६ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।

पोस्टरमा फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ)लाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । पोस्टरमा काजी अर्थात् दयाहाङ पार्कको एउटा कुर्सीमा हातमा क्रिकेट ब्याट समातेर सोचमग्न छन् भने उनलाई बीके र छन्त्यालले गम्भीरतापूर्वक नियालिरहेका छन् ।

यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’ का चारै शृङ्खला बक्स अफिसमा ब्लकबस्टर बनिसकेका छन् । यसको चौथो शृङ्खलाले करिब २२ करोड रुपैयाँको ऐतिहासिक ग्रस कलेक्सन गर्दै लामो समयसम्म सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड आफ्नो नाममा सुरक्षित राखेको थियो ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको हो । फिल्ममा दयाहाङ, विजय, बुद्धिसँगै विपीन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्‍तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।

निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, आधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ ।

फिल्मलाई नेपालमा ब्याङ्कटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ भने विदेश वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।