चर्चामा जदौका संवाद

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘जदौ’ को सोमबार सार्वजनिक ‘एक्सटेन्डेड ट्रेलर’ ले अहिले चर्चा पाइरहेको छ । अन्तरजातीय प्रेम सम्बन्धले परिवार, समाजमा परेको असर,पात्रहरुले प्रेम प्राप्तिका लागि गर्नु परेको संघर्ष र द्वन्द्वको चित्रण देखिने साढे दुई लामो ट्रेलरलाई दर्शकले राम्रो भनी प्रतिक्रिया दिइरहेका छन् ।

फिल्ममा अन्जन शर्मा र काजी लिम्बूको निर्देशन छ । मुकुन भुसाल,ऋचा शर्मा, नीति शाह, प्रभात पल ठकुरी, विनोद न्यौपाने, खड्गबहादुर पुन लगायतका कलाकारले अभिनय गरेको फिल्मको ट्रेलरमा प्रस्तुत गरिएका संवादहरु अहिले चर्चामा छन् ।

लुगा सिलाउन आएकी नीतिलाई मुकुनले ‘म बमबहादुर, थर बर्देवा, गोत्र काश्यप । यहाँको नि ?’ भनेर सोध्दा नीतिले–‘लुगा सिलाउनलाई जात र थर पनि चाहिन्छ र ?’ भनेको संवादले फिल्मको अन्तरबस्तुको झल्को दिएको छ ।

त्यसैगरी, प्रभात पलले नीतिलाई,–‘म बिना एक्लै बाँच्न सक्छौ ?’ भनेर दर्शाएको प्रेममा नीतिले आफ्नो आमा र दाईको अगाडि पोखेको पीडा,‘‘बाँच्न सिक्नुपर्छ,जातको कारणले हाम्रो बिहे हुन सक्दैन रे ।’ होस् या प्रभातले आक्रोशयुक्त पीडामा बोलेको,‘‘हो हो हो म दमाइ हो’ भन्ने संवादले अहिले नेपाली समाजमा यद्यपी ब्याप्त रहेको जातीय उचनिचको बिदेभ प्रष्ट्याएको छ ।

फिल्मको शीर्ष गीत ‘जदौ हजुर’ पछि रोमान्टिक गीत ‘तिमीसँग नबोली’ हिट भइरहेको बेलामा प्रिति कौरले लेखेको ट्रेलरमा समाबेश ‘रागले पोल्यो जातको,चलेन पानी यी हातको’’ गीतले समेत दर्शकको ध्यान तानेको छ ।

शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल छन् । राजाराम सुवेदी, दीपक पोखरेल, नारायण शास्त्री र सुमीत्रा देवकोटा सहनिर्माता अनि बिमला भण्डारी कन्सेप्ट डिजाइनर रहेको फिल्म एनसिजीएनले बितरण गर्दैछ ।