भुटानी कलाकारलाई नेपालका गृहमन्त्रीले के भने ?

काठमाडौँ । नेपाल, भुटान र भारतको संयुक्त निर्माण रहेको फिल्म ‘टनेल २६’ का भुटानी कलाकार तथा निर्माण टोलीले गृहमन्त्री सुदन गुरुङलाई भेटेका छन् । आगामी असोज २३ गते रिलिज हुने फिल्मका कलाकारलाई भेटेपछि गृहमन्त्री गुरुङले फिल्मलाई शुभकामना दिएका थिए ।

गृहमन्त्री गुरुङले फिल्मलाई नेपाल, भुटान र भारतबीचको बलियो सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई प्रतिनिधित्व गर्ने महत्वपूर्ण परियोजनाका रूपमा रहेको दाबी गरे ।

‘फिल्मको विषयवस्तुलाई पछिल्लो समय सुरुङभित्र मानिसहरू फसेको घटनासँग पनि जोड्दै कठिन परिस्थितिमा फसेका मानिसहरूले भोगेको संघर्ष र बाँच्नका लागि गरेको प्रयासले यस्ता कथाको महत्वलाई थप उजागर गर्ने मेरो विश्वास छ’, उनले भने ।

भेटमा फिल्मका निर्माता तथा कलाकार सांगे शेल्ट्रिमले फिल्मको आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री बिपद कोषलाई प्रदान गरिने बताए । भुटानी कलाकार सांगेको फिल्ममा पुरा ५० प्रतिशत सेयर रहेको छ भने उनले आफ्नो सेयरको आधा र पुरा फिल्मको २५ प्रतिशत आम्दानी प्रधानमन्त्री बिपद कोषलाई प्रदान गरिने यसअघि नै घोषणा गरिसकेका छन् ।

फिल्ममा नेपालको तर्फबाट अभिनेता प्रदीप खड्का र चौधरी ग्रुपका निर्वाण चौधरीले निर्माणमा सहकार्य गरेका छन् । अभिनेता प्रदीप क्रिएटिभ निर्माताको रुपमा रहेका छन् । फिल्म साङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्। फिल्मको निर्माणमा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त कुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकार अन्तर्गतको निकाय तथा निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ। फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन् ।

फिल्ममा सङ्गे छेल्ट्रिमसँगै नेपालबाट अनुपविक्रम शाही र आना शर्माले मुख्य भूमिका निभाएका छन् । यस्तै निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायतका कलाकारको अभिनय रहेको छ।