हाम्रो सानो घरमा आचार्यकी पूर्णिका

काठमाडौं । फिल्म ‘हाम्रो सानो घर’ मा अभिनेत्री पूर्णिका सिजापति मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन् । निर्देशक तथा लेखक सुमन गजमेरको निर्देशनमा बन्न लागेको फिल्ममा हलमा प्रदर्शनरत फिल्म ‘आचार्य’की नायिका पूर्णिका अनुबन्ध भएकी हुन् ।

१६ वर्षको उमेरदेखि मोडलिङ यात्रा सुरु गरेकी पूर्णिकाले ‘फेस अफ टिन २०२१’ र ‘फेस अफ क्लासिक डायमन्ड २०२४’ को उपाधि जितिसकेकी छन् । ‘हाम्रो सानो घर’मा सुमनकै कथा, पटकथा रहनेछ ।

समकालीन पुस्ता अर्थात् जेनेरेसन–जेडको प्रेम, सम्बन्ध, सपना, सामाजिक सोच र जीवनशैलीलाई विषय बनाइने फिल्ममा प्रेमकथामार्फत सामाजिक विषयसमेत प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार फिल्मका अन्य कलाकार तथा प्राविधिक टोली छनोटको कामसमेत अन्तिम चरणमा पुगेको छ ।

दशैंपछि फ्लोरमा जाने तयारीमा रहेको फिल्मको मुख्य पुरुष कलाकारको औपचारिक घोषणा गरेपछि फिल्मको निर्माण सम्बन्धी थप जानकारी सार्वजनिक गरिने निर्देशक गजमेरले बताए ।

रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्म सुमनको पहिलो फिचर निर्देशकीय फिल्म हो । गजमेरले यसअघि ‘रंगी’, ‘एक्का तीनः च्याप्टर १’, ‘शेर्वा’ लगायतका फिल्ममा लेखकका रूपमा काम गरिसकेका छन् । उनले ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायतका फिल्ममा सहायक निर्देशकका रूपमा समेत काम गरेका छन् ।

गजमेरद्वारा लिखित तथा निर्देशित लघु फिल्म ‘बत्तीको पुतली’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भइसकेको छ ।