काँग्रेस केन्द्रीय सदस्यमा प्रकाशको उम्मेद्वारी

काठमाडौं । लोकदोहोरी गायक तथा सर्जक प्रकाश कटुवालले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी घोषणा गरेका छन्। राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्षसमेत रहेका कटुवालले कलाकारिता, सामाजिक सेवा र युवासँगको सम्बन्धलाई राजनीतिक जिम्मेवारीसँग जोड्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन्।

रामेछापको उमाकुण्ड गाउँपालिका–३ का क्षेत्रीय प्रतिनिधि कटुवाल खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका हुन्।

कटुवालले उम्मेदवारीको मुख्य उद्देश्य रामेछापका जनताको आवाज कांग्रेसको केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउनु र पार्टीमा युवाको अर्थपूर्ण सहभागिता बढाउनु रहेको बताए ।

कलाकारितासँगै सामाजिक तथा संगठनात्मक क्षेत्रमा सक्रिय कटुवालले पछिल्ला वर्षमा कांग्रेसका विभिन्न गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै आएका छन्।

रामेछापबाट प्राप्त विश्वासलाई आफ्नो राजनीतिक यात्राको आधार बनाएका कटुवालले कांग्रेसका सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिसँग आफूलाई मत दिएर विजयी गराउन आग्रहसमेत गरेका छन्। उनको उम्मेदवारीसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा कलाकारिता क्षेत्र र नयाँ पुस्ताको प्रतिनिधित्वको विषयसमेत चर्चामा आएको छ।