पाँच पाण्डव: द्रौपदी लुक्समा कन्टेन्ट क्रिएटर इभा

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कन्टेन्ट क्रिएटर इभा गिरीलाई द्रोपदीको लुक्समा देखाइएको छ । रातो भेषमा गहनासहित देखिएकी इभा निकै सुन्दर छिन् । महाभारतकी द्रोपदीको झल्को दिने रातो सोल्जर कट ब्लाउज र रातै सारीमा इभालाई प्रस्तुत गरिएको छ ।

यसअघि सार्वजनिक गरिएको फस्टलुकमा हरिवंश आचार्यलाई युधिस्टिर, जितु नेपाललाई भीम, आर्यन सिग्देललाई अर्जुन, महेश त्रिपाठीलाई नहकुल र सुशील सिटौलालाई सहदेव लुक्समा देखाइएको थियो ।

निर्देशक वसन्त निरौलाले इभा युवा पुस्तामा लोकप्रिय रहेकोले फिल्मको क्यारेक्टरमा पनि त्यस्तै रुचाउनेमा आफू ढुक्क रहेको बताए । तिहारको छेको पारेर कार्तिक २० गतेदेखि रिलिज हुने फिल्म अहिले पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि अभिनय छ ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्मातामा काली रानी श्रेष्ठ छिन् । फिल्ममा सुशील पौडेलको कथा, पटकथा तथा संवाद छ ।