काँग्रेसको केन्द्रीय सदस्यमा प्रविणको उम्मेद्वारी

काठमाडौं । सिरहाका युवा नेता प्रविण दासले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा बुधबार मनोनयन दर्ता गरेका छन् । उनले ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट मधेश प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका दासले त्रिचन्द्र कलेजको नेवि संघ इकाइ उपाध्यक्ष हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।

विद्यार्थी जीवनदेखि नै विभिन्न लोकतान्त्रिक आन्दोलन तथा राजनीतिक संघर्षमा सक्रिय रहँदै आएका दास लामो समयदेखि संगठन निर्माण र युवालाई राजनीतिमा जोड्ने अभियानमा समेत सक्रिय छन् ।

त्रिचन्द्र कलेजबाट सुरु भएको विद्यार्थी राजनीतिको यात्रा, संघर्ष र संगठनात्मक अनुभवलाई अब मधेश प्रदेशका ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व गर्दै कांग्रेसको केन्द्रीय तहसम्म पुर्‍याउने उद्देश्यसहित दासले आफ्नो उम्मेदवारी अघि सारेको बताए ।