१२ गाउँ २ ट्रेलरमा एक्सनलाई प्राथमिकता

काठमाडौं । एक्सन स्टारको छवि बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको फिल्म ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा द्वन्द्व, संवाद, अपहरण, उद्धार र बदलालाई स्थान दिइएको छ ।

ट्रेलरमा विराज र समीरलाई आमनेसामने प्रस्तुत गरिएको दृश्यले फिल्मको कथामा उनीहरूबीच कस्तो सम्बन्ध र द्वन्द्व रहनेछ भन्ने जिज्ञासा बढाएको छ । फिल्ममा अभिनेता अनुपविक्रम शाही खलपात्रका रूपमा प्रस्तुत भएका छन् ।

फिल्ममा विराज भट्ट, समीर भट्ट र अनुपविक्रम शाहीसँगै प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ । कृशु शाही (काफिया) र वर्षा इटनी पनि फिल्ममा देखिनेछन् ।

फिल्ममा कथा तथा पटकथा सन्तोष सरकारको रहेको छ। फिल्मको छायाङ्कन महेश पौडेलले गरेका छन् । सम्पादन बन्दे प्रसादको रहेको फिल्ममा युग भुसाल र डीपी खनालको संगीत छ ।

त्यस्तै, रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् भने स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन छ । फिल्म यही शुक्रबारबाट रिलिज हुँदैछ । फिल्म काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्म्स र मोफसलमा कुवेर डिष्ट्रिब्यूसनले वितरण गर्नेछ ।