काठमाडौं । हिमाली क्षेत्रको दुर्गम गाउँका एक बालकको कथा समेटिएको वृत्तचित्र ‘चिल्ड्रेन अफ द स्नोल्याण्ड’को काठमाडौंमा प्रदर्शन गरिएको छ । हिमाली क्षेत्रको दुर्गम गाउँबाट काठमाडौंस्थित स्नोल्याण्ड रनङ् लाइट अफ एडुकेसन स्कुलमा निःशुल्क अध्ययन गरेका बालबालिका आफ्नो घर गाउँ छाडेको १० वर्षपछि परिवारसँग भेट्न पाउँदाको खुशी र उनीहरुले गरेको संघर्षलाई वृत्तचित्रले समेटेको छ ।
एक घण्टा ३० मिनेट लामो वृत्तचित्रको प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले शुभारम्भ गरेका थिए । उनले वृत्तचित्र निकै रुचीपूर्वक हेरेका थिए । उपराष्ट्रपति पुनलाई विद्यालयका सञ्चालक एवं गुरु रिम्पोछे डोल्पो बुद्धले स्वागत गरेका थिए । बुद्धले गुणस्तरीय शिक्षा प्राप्त गर्नबाट वञ्चित दुर्गम हिमाली क्षेत्रका बालबालिकालाई निःशुल्क शिक्षा दिन पाउँदा आफुले ठूलो धर्म कमाएको अनुभुति गरेको बताए ।
सोलुखुम्बु, हुम्ला, जुम्ला, मुगु, डोल्पालगायत हिमाली जिल्लाका करिब दुई सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयले डेनेसन संकलन अभियानलाई अघि बढाउने उद्देश्यले वृत्तचित्र प्रदर्शन गरेको वृत्तचित्र निर्माणमा संलग्न कम्पनी पर्फो्मिङ आर्ट क्रिएसनका सञ्चालक एवं निर्देशक कमल एक्चै मगरले जानकारी दिए ।
नेपाली र अंग्रेजी दुवै भाषा मिश्रित वृत्तचित्रले भ्यालेट्टा फिल्म फेस्टिबलमा बेस्ट अडियन्स, स्वीस माउण्टेन फिल्म फेस्टिबलमा बेस्ट फिल्म अवार्ड, नेपाल ह्युमन राइट्स इन्टरनेसनल फिल्म फेस्टिबलमा बेस्ट फिल्म, लण्डन इन्डिपेन्डेन्ट फिल्म फेस्टिबलमा बेस्ट डकुमेन्ट्री र लण्डन इन्डिपेन्डेन्ट फिल्म फेस्टिबलमा अफिसियल सेलेक्सनको अवार्ड जितेको छ । पर्फो्मिङ आर्ट क्रिएसन प्रालिको निर्माणमा बनेको वृत्तचित्रलाई जारा वुलफोरले निर्देशन गरेका हुन् । वृत्तचित्र निर्माणमा नेपालीका साथै विदेशी प्राविधिक टोलीले काम गरेको छ । वृत्तचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ ।