नवलसँग पुनः जोडिए साम्राज्ञी–पुष्प

काठमाडौं । निर्देशक नवल नेपालको पछिल्लो फिल्म ‘मंगलम्’मा अभिनय गरेका नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का पुनः नयाँ फिल्ममा जोडिएका छन् । पुनम इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको फिल्ममा नवलकै निर्देशन रहनेछ ।

इन्टरटेनमेन्टकी प्रमुख तथा निर्माता पुनम गौतम क्षेत्रीले आफ्नो नयाँ फिल्ममा साम्राज्ञीलाई अनुबन्ध गरेकी हुन् । ‘पटकथाको पहिलो ड्राफ्ट तयार भएदेखि नै साम्राज्ञी पहिलो रोजाइमा थिइन् । त्यही चाहना अनुसार हामी एक अर्कासँग काम गर्न तयार भएका छौं,’ उनले भनिन्, ‘एउटा सुन्दर फिल्म बनाउने हाम्रो चाहना साम्राज्ञीको आगमनसँगै पुरा हुने भएको छ ।’

नायिका साम्राज्ञीले फिल्मको कथा रोचक लागेकोले अभिनयका लागि राजी भएको बताइन् । ‘इन्टु मिन्टु लन्डनमा पछि जति पनि कथा सुनिरहेकी थिएँ । त्यसमा यो फिल्मको कथा बिल्कुलै फरक छ । कथासँगै निर्माण टिम पनि राम्रो लागेकाले यो फिल्म गर्न राजी भएकी हुँ,’साम्राज्ञीले भनिन् । फिल्म ‘मंगलम्’मा साम्राज्ञी लेखिका तथा पुष्प शारीरिक अशक्त पात्रको भूमिकामा थिए । फिल्ममा साम्राज्ञीसँगै पुष्प खड्का र रेबिका गुरुङ फाइनल छन् ।

माघको दोस्रो हप्ताबाट फ्लोरमा जाने फिल्मको नाम भने निर्माण टिमले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । बाँकी कलाकार र नामऔपचारिक कार्यक्रम गर्दै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ ।  फिल्ममा गोविन्द फुयाँलको लेखन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत हुनेछ । फिल्म निर्माणमा पुनमलाई राजा प्रधानले सघाउनेछन् ।