यादमा आए छिरिङ

काठमाडौं । गायक छिरिङ भुटिया ‘याद’ लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । ‘छिरिङ एण्ड द ब्याण्ड २०७४’ को भिडियो फिचरिङसहित गायक तथा संगीतकार भुटियाले ‘याद’ लिएर आएका हुन् । सञ्चार उद्यमी भास्करराज राजकर्णिकार र सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले गीतलाई सार्वजनिक गरे ।

राजकर्णिकारले नयाँ पुस्ताको परिवर्तनसँगै पुराना पुस्तालाई नचिन्ने र बिर्सने प्रवृत्ति हावी भएको बताउँदै समाज परिवर्तनका नाममा मौलिकता हराउँदै गएको बताए । कार्यक्रममा बेस गिटारिस्ट सन्तोष श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने गायक छिरिङ भुटियाले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

‘याद’ गीतमा विजु कर्माचार्यको शब्द, संगीत रहेको छ भने एरेन्ज छिरिङ एण्ड द ब्याण्डको रहेको छ । छिरिङ भुटियाको स्वर रहेको उक्त गीतलाई विशालले मिक्सिङ गरेका छन् भने भिडियोलाई पिनकिङ प्रोडक्सनले निर्माण गरेको हो ।छिरिङ द ब्यान्डमा सन्तोष श्रेष्ठ (बेस गिटार), अमित कर्माचार्य (लिड गिटार), ओम श्रेष्ठ (ड्रमर), सामयोल राई (गिटार) र छिरिङ भुटिया (भोकालिष्ट) रहेका छन् ।

२०३० सालमा सुखियापोखरी दार्जिलिङमा जन्मिएका भुटियाको स्थायी घर भने संखुवासभाको खाँदबारीमा हो । पेशालाई साउन्ड इन्जिनियरिङमा लामोसमयदेखि आबद्ध रहेका भुटियाले २०५३ सालमा हेरिदेउ हाँसिदेउ बजारमा ल्याएका थिए । त्यसपछि २०५३ मा नै कलेक्सन एल्बम निशानीमा उनले स्वर दिएका थिए । त्यस्तै तिमी आएजस्तो २०५४, सायद २०५७, डे २०५९ र उपस्थिति २०६२ मा बजारमा ल्याएका थिए । गायक तथा संगीतकार छिरिङले हिट्स एफएम म्यूजिक अवार्ड २०५८, साचिस अवार्ड दार्जिलिङ २०५९ जस्ता अवार्डहरु हात पारिसकेका छन् ।