कुमार सानुले गाए सयौं जुनी सँगै जिउन

काठमाडौ । भारतीय पाश्र्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो सार्वजनिक भएको छ । ‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा आँशु’, ‘म त अब रिसाउँछु’ लगायत दुई दर्जनभन्दा बढी नेपाली फिल्ममा स्वर दिइसकेका कुमारले धेरैपछि नेपाली गीत गाएका हुन् ।

अमेरिकाको न्यूयोर्कका लागि नेपाली महावाणिज्य दूतसमेत रहेका साहित्यकार एवं सर्जक कृसु क्षेत्रीको शब्द रचना रहेको गीतमा युग भुषालको संगीत रहेको छ । भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको अभिनय छ । भिडियोको निर्देशन दिलिप समनले गरेका हुन् ।

फराज अर्पणले गीतको भिडियो खिचेका हुन् भने सम्पादन पनि उनकै हो । जी एस क्रियशनले भिडियोमा अभिनय गर्ने कलाकारलाई पहिरन उपलब्ध गराएको हो । सार्वजनिक गीतमा आदित्य शंकरले गितार बजाएका छन् । गौरव मल्लिकले गीतको संगीत संयोजन गरेका हुन् ।

यस भिडियोको निर्माण रोशन पराजुलीले गरेका हुन् । इण्डो ग्लोबल फाउण्डेसन र रोयल रिलको सपोर्टमा निर्माण भएको सार्वजनिक भिडियोलाई यूट्युबमा निकै रुचाइएको छ । अधिकांशले कुमार सानुको गायनको प्रशंसा गरेका छन् ।