काठमाडौं । आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मारुनी’की निर्मात्री पुनम गौतमले चितवनका दर्शकलाई तीजमा माइतीलाई मारुनी कोशेली दिएको बताएकी छन् । फिल्म प्रचारका लागि नेपाल टुरमा रहेको फिल्म टोलीले इटहरीपछि चितवनमा आयोजित कन्सर्टमा उनले यो कुरा बताएकी हुन् ।
‘मेरो घर नै चितवन भएकाले आउन लागेको तीजमा माइतीलाई ’मारुनी’ कोसेली लिएर आएको हुँ’, उनले भनिन् । चितवनको नारायणी नदी किनारमा आयोजना भएको कन्सर्टमा हजारको आसपासमा दर्शकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कलाकारहरु पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले फिल्मको दुई गीत ‘जाम न माया जाम’ र ‘सक्दिन म बाँच्न’ मा नृत्य गरेका थिए । उनिहरु नाच्दा दर्शकहरुले जोडले हुटिङ गरेका थिए । उनिहरु सँग सेल्फी खिच्न दर्शकहरु स्टेजमै चढेका थिए ।
यस्तै केही फ्यानहरु पिछा गर्दै होटेलसम्म पुगेका थिए । उनिहरुले कार्यक्रममा बोल्दै चलचित्र राम्रो बनेकोले हलमा गएर हेर्न आग्रह गरेका थिए । यस्तै, निर्देशक नवल नेपालले आफुले मुटु छुने चलचित्र बनाएकोले सबैलाई हेरिदिन आग्रह गरे । कार्यक्रममा गायक कृष्ण काफ्लेले पनि गीत गाएर दर्शकहरु लाई नचाएका थिए । चितवन पछी भदौ ७ गते पोखरा, ८ गते बुटवल र ९ गते नेपालगन्ज मा कार्यक्रम हुनेछ ।