अक्षयलाई भेट्न नौ सय किलोमिटर पैदल

मुम्बई(एजेन्सी)। आफ्नो मनपर्ने कलाकारका लागि उनीहरुका फ्यानले के केसम्म गर्दैनन् । उनीहरुले आफ्नो मनपर्ने कलाकारका लागि गरेको क्रियाकलाप जहिल्यै पनि चर्चामा आउने गर्दछ । यस्तै काम अक्षयका फ्यानले गरेका छन् । अक्षयका एक फ्यानले ९ सय किलोमिटर पैदल यात्रामार्फत अक्षयलाई भेटेका छन् । अक्षयले सामाजिक सन्जालमा ती युवकको भिडियो राख्दै यो कुराको पुष्टि गरेका छन् ।

गुजरातका परबतले द्वारिकाबाट पैदल यात्रा अक्षय कुमारको मुम्बईस्थित घरसम्म पुरा गरेका हुन् । उनले यो यात्रामा १८ दिन लगाएका थिए । उनले पैदल यात्रामा आफूलाई कुनै समस्या नभएको उल्लेख गरेका छन् । ‘किनकी म अक्षयकुमारको फ्यान हुँ । म तपाईंकै जस्तो फिट पनि छु’, उनले भनेका छन् ।

अक्षयले भिडियोको क्याप्सनमा ‘आज परबतसँग भेट भयो । उनले द्वारिकाबाट मुम्बई ९ सय किलोमिटर १८ दिनमा हिँडेर आइतबार मलाई भेट्ने योजना बनाएका थिए । यदी हामी युवाहरुमा यस किसिमको इच्छाशक्ति र योजना हुन्छ भने त्यसलाई कसैले रोक्न सक्दैन’ भन्दै लेखेका छन् ।