सरौतोमा भीटेन भन्दैछन्, ‘फर्केर आउँछु’

काठमाडौं । युवापुस्तामाझ चर्चित र्यापर भीटेन (समिर घिसिङ) ले फिल्म ‘सरौतो’का लागि स्वर दिएका छन् । उनकै शब्द र संगीत तथा स्वर रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक भएको छ । फिल्म सार्वजनिक टिजर मनपरेपछि भिटेनले गीत तयार गरेका हुन् । यो गीतको भिडियोमा भिटेन आफै पनि देखिएका छन् । उनले पहिलो पटक नेपाली फिल्मका लागि तयार पारेको गीतलाई निर्माण पक्षले सार्वजनिक गरेको हो । गीतमामार्फत भिटेनले अन्याय सहन नहुने भाव व्यक्त गरेका छन् ।

गीतमा भिटेनको साथमा मुख्य कलाकार सुमी मोक्तान पनि देखिएकी छिन् । गीतलाई तिहारको छेकोमा छायांकन गरिएको हो । गीतमा भिटेन केहि फरक अन्दाजमा प्रस्तुत भएका छन् । फिल्मकै थिमअनुसार गीतलाई तयार गरिएको छ । गीतलाई फिल्मकै निर्देशक हरी हुमागाईंले तयार गरेका हुन् । रुथलेस बिट्जको संगीत र मिक्सिङ्ग रहेको गीतले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ । गीतलाई ‘सरौतो’ टाइटलमै रिलिज गरिएको हो भने यसको भिडियोलाई समीर गुरुङले सम्पादन गरेका हुन् ।

हरिकै डेब्यू निर्देशन रहेको फिल्ममा सुमीसँगै लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको अभिनय रहेको छ ।