संगीत साधना विजेतालाई पुरस्कार

काठमाडौं । साधना सांगीतिक विमोचन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ‘साधना संगीत नै जीवन हो’ भन्ने नाराका साथ स्थापना भएको ‘साधना’ संस्थाले गरेको संगीत साधना प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो । राजधानीमा शनिबार आयोजित कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै सो अवसरमा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने मूल नारा लिएर विश्वसामू नेपाल चिनाउन अग्रसर रहेका गायक धिरज राई र सञ्चारकर्मी गीता अधिकारीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा संगीत साधना प्रतियोगितामा प्रथम हुने राजन श्रेष्ठ, द्वितिय हुने सुशिल गजमेर र तृतीय हुने रितु सिवालाई नगद राशीसहित पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई यमन इन्टरटेन्मेन्टले उपहार स्वरुप प्रदान गरेको तीन गीत सहित साधनाको शीर्षगीत पनि सो अवसरमा सार्वजनिक गरिएको थियो । सार्वजनिक गीत ‘साधना’, ‘चौतारी मेलैमा’, ‘मायाको बन्धन’, ‘भूल’मा तरावीर पाण्डेको संगीत रहेको छ भने रचना साधना परिवार, प्रेम खत्री, दीपा विष्ट र दीलीप घिमिरेको रहेको छ ।

तारावीर पाण्डेको सहजिकरण र साधना परिवारको संस्थापक कुशल गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गायीका टिका प्रसाईं, गायक सडज लिम्बु सम्बाङफे, सबिन लिम्बुलगायतका अतिथिहरु रहेका थिए ।