शाहरुखले बनाए कोरोना फिल्म

मुम्बई(एजेनसी) । चीनबाट फैलिएको कोरोना भाइरसको डरमा अहिले जोकोही छ । जोकोही पनि यो भाइरसबाट सुरक्षित हुन चाहन्छन् । यही समयमा बलिउड स्टारले सामाजिक सन्जालका माध्यमबाट आफ्ना फ्यानलाई कोरोना भाइरसबाट बच्नका लागि जागरुक बनाउन थालेका छन् । बलिउड बादशाह शाहरुख खानले एक भिडियोका माध्यमबाट कोरोना भाइरसबाट टाढा रहन र यसको लक्षणबारे आफ्ना फ्यानलाई जानकारी दिएका छन् । शाहरुखले कोरोनाकै विषयमा एक छोटो फिल्म बनाएका छन् । जुन फिल्मलाई उनका फ्यानहरुले निकै मनपराएका छन् ।

फिल्मको शुरुवात शाहरुखले कोरोनाको लक्षणबाट गरेका छन् । कोरोनामा सबैभन्दा पहिले सर्दी र खाँसी हुने बताएका छन् । यसपछि शाहरुखले नै अभिनय गरेको एक फिल्मको गीत ‘सर्दी खांसी ना मलेरिया हुआ ये गया यारों इसको लवेरिया हुआ’ गीत बज्दछ । यसपछि उनी थकान र कमजोरीको कुरा गर्छन् । त्यही बेला ‘कल हो ना हो’को भिजुअल देखिन्छ । जब उनले एक्लोपनको कुरा गर्छन् त्यसबेला फिल्म ‘जीरो’ देखिन्छ । त्यसपछि उनले यी लक्षण देखिए सावधानी अपनाउन आग्रह गर्छन् ।

जब शाहरुखले केही समस्याको कुरा गर्छन्, त्यो बेला फिल्म ‘बादशाह’को केही भिजुअल देखिन्छ । जसमा उनी चिच्याउने कोशिस गर्छन्, तर चिच्याउन सक्दैनन् । यसपछि हात मिलाउने कुरा गर्दा उनको फिल्मको केही दृश्य देखाइन्छ । जब सोसियल डिस्टेसिङको कुरा आउछ, त्यो बेला उनको वरीपरी मानिस घुमेको देख्न सकिन्छ । उनले जब सार्वजनिक यातायातको कुरा गर्छन्, त्यही बेला ‘चल छैया छैया’ गीत देखाइन्छ ।