पारिश्रमिक घटाउदै बलिउडकर्मी

मुम्बई(एजेन्सी) । बलिउडका कैयौं कलाकारहरु फिल्मको सुटिङ चाँडै होस् भन्ने प्रतिक्षामा छन् । तर फिल्म उद्योगको हालत दिनानुदिन खस्कदै गएको छ । गत मार्च ३१ देखि फिल्मको सुटिङ बन्द छ भने फिल्म हलमा ताला लागेको छ । कोरोना महामारीका कारण भारतभर लागु गरिएको लकडाउनले फिल्म उद्योगमा मात्रै ८ सय करोड रुपैंयाँको नोक्सानी भइसकेको छ ।

यो नोक्सानीको ठूलो मार निर्माताले भोगिरहेका छन् । मल्टीप्लेक्सको कमाई शुन्यमा झरेको छ । काम बन्द भएपछि कलाकारले पनि चेक र नगद पाउन छोडेका छन् । यस्तो अवस्थामा सबैजना चाँडै सिनेमाघर खुलुन् र फिल्मको सुटिङ पनि शुरु होस् भनेर प्रार्थना गरिरहेका छन् । उद्योगलाई पुनः पहिलाकै गतिमा ल्याउनका लागि साना कलाकारहरु आफ्नो पारिश्रमिक कम गर्न तयार भइसकेका छन् । ठूला कलाकारहरु पनि आफ्नो पारिश्रमिक कम राजी भइसकेका छन् ।

तर हालसम्म खान, कपूर, कुमार र बच्चनका सन्ततिबाट पारिश्रमिकका विषयमा केही कुरा सार्वजनिक भइसकेको छैन । नयाँ कलाकारहरु कार्तिक आर्यन, तापसी पन्नुदेखि लिएर दीपिका पादुकोण र माधुरी दिक्षित जस्ता अग्रज कलाकारले उद्योगको गाडीलाई मूल बाटोमा ल्याउन आफ्नो पारिश्रमिक कटौतीका लागि तयार भएको बताइसकेका छन् ।

आमिर खान, सलमान खान, शाहरुख खान, अक्षय कुमार, अजय देवगन, अमिताभ बच्चन जस्ता अग्रज कलाकारहरुले पनि पारिश्रमिकमा सम्झौता गर्नुपर्ने हुन्छ । जबकी रणवीर सिंह, रणवीर कपूर, वरुण धवन, आलिया भट्ट श्रद्धा कपुरजस्ता कलाकारले पनि पारिश्रमिक कम लिनुपर्ने हुन्छ । उद्योगका जानकारहरुले यी कलाकारलाई आफ्नो पारिश्रमिक कम गर्नुबाहेक अन्य विकल्प नरहेको बताएका छन् । जुन कलाकारले पारिश्रमिक घटाउन मान्दैनन्, उनीहरुको स्थानमा अर्को कलाकार लिने विकल्प पनि खुल्ला छ ।

पछिल्लो पटक अभिनेता कार्तिक आर्यनले निर्माताको भनाई अनुसार आफू पारिश्रमिक कम गर्न तयार रहेको बताएका थिए । उनले आफ्नो फिल्मको हितका लागि जुनसुकै सामूहिक सम्झौता गर्नुपरे पनि आफू तयार रहेको बताएका थिए । अभिनेत्री माधुरीले पनि निर्मातालाई सहयोग गर्न आफू तयार रहेको बताएकी थिइन् ।
थिएटर खुलेपछि पनि दर्शकको आगमनमा कमी पक्कै हुनेछ । त्यसकारण पनि स्वाभाविक रुपले फिल्मको बजेट कम हुनेछ र निकै टाइट बजेटमा केही राम्रा फिल्म बन्नेछन् ।