४७ वर्षपछि भेटियो हराएको औठी

लसएन्जल्स(एजेन्सी) । एक अमेरिकी महिला डेबरा मेककेनाको हराएको एक औठी करिब ४७ वर्षपछि भेटिएको छ । उनको त्यो औठी फिनल्याण्डको एक जंगलमा भेटिएको हो । तर त्यो औठी जंगलमा कसरी पुग्यो भन्ने कसैलाई थाहा छैन ।

समाचार अनुसार ६३ वर्षीया डेबराले पोर्टल्याण्डमा औठी हराएकी थिइन् । जुन बेला उनी मार्स हाइस्कुलको एक छात्रा थिइन् । डेबराले आफ्नो हराएको औठीबारे सबै कुरा बिर्सिएकी थिइन् । त्यही समयमा एक सीट मेटल कामदारले ४७ र्षपछि फिनिश जंगलमा जमिनभन्दा आठ इन्च तल भेटेका थिए । यो औठी मेककेनाका दिवंगत पति शानको थियो । जसले स्कुल र कलेजमा सँगै अध्ययन गरेका थिए । यो जोडीले सन् १९७७ मा विवाह गरेका थिए र शानको मृत्युसम्म सँगै थिए । सन् २०१७ मा क्यान्सरका कारण शानको मृत्यु भएको थियो । शानले कलेज जानु अघि नै मेककेनालाई औठी दिएका थिए र उनले गल्तीले एक डिपार्टमेन्ट स्टोरमा छोडेकी थिइन् ।

६३ वर्षीया डेबराका अनुसार यो औठी गत साता चिठीमार्फत उनको हातमा आइपुगेको हो । ‘यो औठी देखेर म छक्क परें र लामो समयसम्म रोइ रहें । यो औठी मेरो दिवंगत पति शानको हो । सन् १९७३ मा हामी दुवैले मोर्स हाइस्कुल र कलेजमा एकअर्कासँग डेट गरेका थियौं । यो औठी शानले लगाएका थिए, तर कलेज छोडेपछि उनले मलाई दिए । दुर्भाग्यवश मैले यसलाई डिपार्टमेन्ट स्टोरमा बिर्सिएँ । यो पुनः भेटिन्छ भन्नेमा म आशावादी थिइनँ । विवाह पछि हामी ४० वर्ष सँगै रह्यौं’, उनले भनेकी छन् ।

औठी भेटाएपछि ती व्यक्तिले यसको मालिकलाई खोज्न थाले । उनले मोर्स हाइस्कुलमा पुगेर औठी देखाएपछि पूर्व छात्र संघले औठीको मालिकलाई भेटाउन लामो समय लगाएन किनकी औठीमा १९७३ लेखिएको थियो । त्यो मिति स्नातकको पढाईको समय र शुरुवाती एसएम लेखिएकोले त्यो नाम शानसँग मिलेको थियो ।