बुधबारबाट सुपर डान्सर नेपालको डिजिटल अडिशन

काठमाडौं । फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिशनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन सकिएको हो । शोको डिजिटल अडिसन बुधबारबाट सुरु हुनेछ ।

काठमाडौं अडिशनमा ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक एडी रिलिजकी कम्युनिकेसन मेनेजर रश्मी अग्रवालले बताईन् । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।

छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिशन राखिएको उनले बताइन् । फिजिकल अडिशन दिएका प्रतिस्पर्धीले डिजिटल अडिशन दिने पाउने छैनन् । भिडियो प्रष्ट बुझिने र क्वालिटीको हुनुपर्ने बताइएको छ । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ । डिजिटल अडिशन असार ७ गतेसम्म हुनेछ ।

‘सुपर डान्सर’ अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो हो । नेपालको लागि औपचारिक रुपमा‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रशारणको सर्वाधिकार एडी रिलिजको रहेको छ ।

एडी रिलिजले विभिन्न भूमिकामा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोज्दै उनीहरुको क्षमता विश्वसामु प्रस्तुत गर्ने जमर्को एडी रिलिजले गरेको छ ।