काठमाडौं । कृष्णजन्माष्टमी अर्थात भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्णलीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट गरेको छ । सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा फिल्मका अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, निर्देशक दीपक ओली, गायक रबि ओड, गायिका सुनीता कार्की र कोरियोग्राफर माइकल चन्द पुगेका थिए ।
ओएसीस एजुकेशनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरुलाई सम्बोधन गर्दै ‘कृष्ण लीला’ को ‘अटल बाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए । त्यसैगरी बुद्धि तामाङ र रबिन्द्र झाले दर्शकहरुलाई ‘कृष्ण लीला’ हेर्न आग्रह गर्दै रमाइलो प्रस्तुति दिएका थिए ।
गायक रबि र गायिका सुनीताले ‘अटल बाचा गरें’ गाएका थिए । द पोजेटिभ इभेन्ट्सले ब्यबस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेशनल एकेडेमी पर्सा, अकीवा वाइन,सिजी ल्याण्डमार्क,फोकस इन्टरटेन्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन,लेक २० थाउजेन्ड फार्म एण्ड रिट्रिटलगायत थिए ।
आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । लक्ष्मण सुवेदी लिखित फिल्ममा पुष्प,श्रद्धा,बुद्धि,रबिन्द्रका साथमा हिउँवाला गौतम,भावना गुरुङ,नवीन रेग्मी तथा बालकलाकार आयुष गुरागाईँले अभिनय गरेका छन् ।
प्रकाशराज कार्की र केवल तामाङ निर्माता तथा पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मका गीतमा रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी छ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्ममा श्री श्रेष्ठको थ्रिल छ ।