फर्कि फर्किमा फेरिएका अनमोल

काठमाडौं । ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म बनाएका निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो प्रोजेक्टको औपचारिक घोषणा गरेका छन् । ओएसआर डिजिटलसँग मिलेर उनले निर्माण गर्न लागेको नयाँ फिल्म ‘फर्कि फर्कि’को फस्टलुक टिजर सार्वजनिक गर्र्दै निर्माणको घोषणा गरिएको हो ।

फस्टलुक भिडियोमा नायक अनमोल केसीलाई मात्र फिचर्ड गरिएको छ । टिजरमा अनमोल केसी आफ्नै जीवनदेखि अलमलमा परेको हेर्न सकिन्छ । फिल्ममा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङको मुख्य भूमिका रहनेछ ।

फिल्मको छायांकन लक्ष्मीपूजाबाट सुरु हुनेछ । फिल्म सन् २०२४ मा रिलिज गर्ने योजनामा रोहित अधिकारी फिल्मस् छ ।

सुयोग गुरुङको निर्देशनमा तयार हुने फिल्ममा रोहित र ओम अग्रवालको लगानी रहनेछ । सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहनेछ ।

फिल्मबाट आफू उत्साहित रहेको नायक अनमोल केसीले सामाजिक संजालमा उल्लेख गरेका छन् । उनले, यो फिल्ममा फरक प्रेमकथा हेर्न पाइने बताएका छन् ।