काठमाडौं । फिल्म ‘बाः एक योद्धा’ को लोकलयमा आधारित गीत ‘नभन्नू कोइसित’ सार्वजनिक भएको छ । समीक्षा अधिकारी र सागर आलेको स्वर रहेको गीतमा हरि लम्सालको शब्द तथा संगीत छ ।
नेपाली पञ्चेबाजाको धुनमा तयार पारिएको यो गीतले नेपाली विवाह र उत्सवको झल्को दिन्छ । भिडियोमा केकी अधिकारी र करण साहको नृत्य छ ।यसअघि यो फिल्मको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो ।
फिल्म भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू फिल्मको मुख्य कथा हो ।
फिल्ममा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय छ ।
फिल्ममा हरि लम्सालको लेखन तथा निर्देशन छ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।





