५१ औं दिनमा चिरञ्जीवी भवः इन्डक्ल्याप

काठमाडौं । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को फिल्म ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ । ५१ दिनमा फिल्मको छायांकन सकिएको हो ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मको जेठ १५ बाट छायांकन सुरु भएको थियो । धनकुटा, सुनसरी र काठमाडौंमा फिल्मको छायांकन भएको थियो ।

फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले फिल्म निर्माण गरेका छन् । फिल्ममा अभिनेता हरिवंश आचार्य, अभिनेत्री करिस्मा मानन्धर, नायक आशीर्वाद क्षेत्री, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् ।

यस्तै फिल्ममा कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल, सुमन ज्योति न्यौपानेलगायत कलाकारको पनि अभिनय रहेको छ ।

कुमार कट्टेलले तयार पारेका कथा लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ ।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको फिल्ममा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् । निर्देशक दीपक आचार्य आफैँले यस चलचित्रको गीत समेत लेखेका छन्, जसमा हर्क साउदको पनि रहने छ ।

फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन र बाबु गिरीको संगीत, गम्भीर विष्ट र किरण थापा नृत्य निर्देशन छ । यो फिल्म आगामी माघ १ गतेबाट देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ । फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।