काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक भएको छ। ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्म आगामी असोज २३ गते अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउनेछ। ट्रेलर रिलिज कार्यक्रममा नेपाली कलाकारसँगै भुटानबाट आएका १६ सदस्यीय कलाकार र प्राविधिकको टोली सहभागी थिए ।
ट्रेलरमा भुटानको एक जलविद्युत् सुरुङभित्र भएको हताहतीको घटनापछि उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ। डिजास्टर जनरामा निर्माण भएको फिल्म भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण टिमले जनाएको छ।
फिल्मको छायांकन करिब १०० दिनसम्म भएको थियो। निर्माण पक्षले कथाको भौगोलिक परिवेश र दृश्यात्मक आवश्यकतालाई ध्यानमा राखेर लामो समयसम्म छायांकन गरिएको जनाएको छ ।
फिल्म सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्। फिल्मको निर्माणमा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त कुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको डोमकिप तथा निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ। फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन् भने नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्।
फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्। यसमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायतका कलाकारको अभिनय रहेको छ। प्रदीपले यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरेका थिए।
निर्माता निर्वाण चौधरीले फिल्म निर्माणमा आफूपनि साझेदार भएर अगाडी बढ्न पाउँदा खुसी लागेको बताए । उनले बुबा बिनोद चौधरीले चार दशक अघि फिल्म निर्माण गरेको स्मरण गराउँदै अब आफूले पनि फिल्म निर्माणमा निरन्तरता दिने बताएका थिए ।
अभिनेता प्रदीप खड्काले निर्वाण चौधरी र भुटानमा निकै उत्कृष्ट काम गरिरहेका कलाकार, प्राविधिकसँग जोडिन पाउँदा खुसी लागेको बताए । निर्माता तथा कलाकार साङ्गे छेल्ट्रिमले बलिउड मात्र हैन हलिउडस्तरकै फिल्म बनेको भन्दै ढुक्कका साथ सबैलाई फिल्म हेर्न आग्रह गरे । उनले नेपालमा पछिल्लो समय आएको बिनाशकारी बाढीका कारण जनधनको क्षति भएको प्रति दुख ब्यक्त गर्दै फिल्मको पुरा आम्दानीको २५ प्रतिशत अर्थात आफ्नो सेयरको ५० प्रतिशत आम्दानी नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने घोषणा समेत गरे ।
फिल्मको छायांकन दीर्घ गुरुङ र सङ्गे टी तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर, पेमा लामो निर्माण व्यवस्थापक तथा ब्लु छेरिङ दोर्जी मेकअप तथा पोसाक विभाग प्रमुखका रूपमा छन्। चलचित्रको संगीत तथा ध्वनि सम्बन्धी काम थाइल्यान्डमा गरिएको हो। संगीतकार तेर्डसाक जानपानले पृष्ठभूमि संगीत तयार पारेका छन् भने करण थामावोङले ध्वनि डिजाइन तथा पुनः रेकर्डिङ मिक्सिङ सम्हालेका छन्। रथाकोर्न थोङनुनले संवाद सम्पादन तथा फोलीको काम गरेका छन्। चलचित्रको दृश्य प्रभाव निफान स्टुडियोले तयार पारेको हो।
नेपालमा चलचित्रको व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रा।लि।ले गरेको हो भने सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेका छन्।








