बलभद्र सम्झाउने नालापानी टिजर

काठमाडौं । नालापानी युद्धमा नेपाली फौजले देखाएको बहादुरीपनलाई प्रस्तुत गरिएको फिल्म ‘नालापानी’को टिजर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार सार्वजनिक गरिएको टिजरमा भीएफएक्सको राम्रो प्रयोग गरिएको छ । टिजरमा बलभद्र कुँवर र नेपाली फौजको बहादुरीको कथा प्रस्तुत गरिएको छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

पद्मा कुमारी फिल्मस प्रा.ली. र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनेको यस फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । रिमेश अधिकारी निर्दे्शित फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र बसन्त खत्री मगरले भिएफएक्स गरेको यस फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका छन् । प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ आधारित छ ।  ज्ञानेन्द्र थपलिया कार्यकारी निर्माता रहेको फिल्मको सह(निर्मातामा गणेश कार्की छन् । सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको ‘नालापानी’ मा कविराज गहतराजको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ । फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन ।