दिलीप कुमारद्वारा मोदीसमक्ष सुरक्षा माग

मुम्बई(एजेन्सी) । बलिउडका ख्याती प्राप्त अभिनेता दिलीप कुमारकी पत्नी सायरा बानोले आफ्नो सम्पत्ति बचाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोग मागेकी छन् । सायराले एक बिल्डरले उनको सम्पत्ति हडप्ने कोशिस गरिरहेको आरोप लगाएकी छन् । हालै मात्र ती बिल्डर जेलबाट छुटेका छन् । जेलबाट छुटेपछि कतै ती बिल्डरले आफ्नो सम्पत्ति नहडपोस् भनेर प्रधानमन्त्रीसँग् भेटेर सुरक्षा माग्ने इच्छा व्यक्त गरेक छन् ।

आइतबार सायराले दिलिप कुमारको अफिसियल ट्वीटरमार्फत ‘दिलीप कुमारको पाली हिल र बान्द्रामा घर छ । बिल्डर समीर भोजवानी यो सम्पत्ति हडप्ने कोशिस गरिरहेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीजी, समीर भोजवानी हालै मात्र जेलबाट छुटेका छन् । यो भन्दा अघि महाराष्ट्र सीएम देवेन्द्र फडणवीससँग हामीले उजुरी दिएका थियौं । उनको आश्वासनपछि यो मामलामा कुनै एक्सन भएन । पद्म विभूषण दिलीप कुमार डराउँदै हुनुहन्छ । यसकारण म तपाईसँग भेट्न चाहन्छु । कृपया सहयोग गर्नुहोला’, भन्दै ट्वीटेकी छन् ।

सायराले बिल्डर समीर भोजवानीले सम्पत्ति हत्याउनका लागि नक्कली कागजात पनि तयार पारेको र यो काममा केही सरकारी कर्मचारीले पनि सहयोग गरेको बताएकी छन् ।सायराले यही वर्षको जनवरीमा बिल्डर समीर भोजवानीका विरुद्ध निवेदन दिएकी थिइन् । मुम्बई पुलिसको इकोनोमिक अफेन्स विङले यो मामलामा भोजवानीका विरुद्ध गडबढीको मुद्धा दायर गरेका थिए । विङले भोजवानीको अड्डामा छापा मारेर हतियार, फर्जी कागजात पनि बरामद गरेको थियो । गत अप्रिलमा भोजवानीलाई गिरफ्तार गरे पनि हाल उनी जमानतमा रिहा भएका छन् ।

मुम्बईको बान्द्रा इलाकाको पाली हिलमा दिलिप कुमारले सन् १९५३ मा यो सम्पत्ति हसन लतीफबाट १ दशमलब ४० लाख रुपैंयाँमा किनेका थिए । यो स्थानलाई पुनर्विकास गर्न सन् २००८ मा परजिता डेवलपर्ससँग एक करारनामा गरिएको थियो । सन् २०१७ को ३० अगष्टमा उच्च अदालतले यो स्थान दिलिप कुमारलाई दिन आदेश दिएको थियो । सन् २०१७ सेप्टेम्बर १२ देखि यो सम्पत्ति सायरालाई सम्पत्तिका रुपमा मिलेको हो ।