सरौतोको चुलाचौकामा सनी र सुमीको छमछमी

काठमाडौं । छायांकनरत फिल्म ‘सरौतो’ को एक लोकलयको गीतको छायांकनसँगै फिल्मको राजधानीको सेड्युल सकिएको छ । ललितपुरस्थित सानेपाको इन्टरनेशनल क्लबमा छायांकन गरेको गीतमा सुमी मोक्तान र सन्नी सिंह बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका थिए । फिल्मका निर्देशक हरी हुमागाईंले गीत कलाकारले सम्झेको दृश्य रहेको खुलाए ।

‘स्कुलमा एउटा कार्यक्रममा आयोजना गरिएको कार्यक्रममा हिरोको सम्झनामा आउने सिनको छायाँकन गरिरहेका छौ’, हरीले भने ‘डेब्यु फिल्ममा सबैको सहयोग पाएर काम राम्रो भइरहेको छ । फिल्म र गीतलाई दर्शकले इन्जोय गर्नु हुन्छ ।’ ‘चुलोचौका’ बोलको गीतमा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर तथा राजनकै शब्द र संगीत छ । गीतमा निलिमा शाक्यको डेब्यु कोरियोग्रफी छ ।

नायिका सुमीले लोकलयको गीतमा पहिलोपटक नृत्य गरेकाले गीतबाट आशावाद रहेको बताइन् । गीतमा बेहुला र बेहुलीको रुपमा क्रमश पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् । स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह (निर्माताको रुपमाश्री महर्जन रहेका छन् ।

एक्सन र रिभेन्जको कथामा बन्ने फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, सुवांगम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, मनोज तामाङलगायतको अभिनय रहेको छ । फिल्ममा राघवकृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहनेछ । काठमाडौंको छायांकन पछि टोली सिम्रौनगढलगायतका तराईको स्थानमा छायांकन गर्न लाग्नेछ ।