च्यारिटीमा अनुपविक्रमको तारिफ

काठमाडौं । आगामी चैत १ बाट रिलिज हुन लागेको फिल्म ‘पुरानो बुलेट’ले मोरङको पथरीमा च्यारिटी शो गरेको छ । पथरीको कञ्चन चलचित्र मन्दिरमा गरिएको च्यारिटी शोमा फिल्म हेर्ने दर्शकले कलाकार अनुपविक्रम शाहीको अभिनयको तारिफ गरे ।

फिल्म युनिटसँगै करिब ५ सय दर्शकले फिल्म हेरेका थिए । दर्शकले दुई वर्षा शिवाकोटी र माला लिम्बुसँगै अनुपविक्रमको काम पनि राम्रो लागेको बताए । उनीहरुले अनुपविक्रमको लुक्सले आकर्षित गरेको प्रतिक्रिया दिए ।

क्रेजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्म गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ च्यारिटी गरिएको हो । फिल्मका कार्यकारी निर्माता सन्तोष राईले पूर्वेली जनजीवनलाई केन्द्रित गरी फिल्म बनेकाले दर्शकले रुचाएको खुलाए । सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशनमा बनेको फिल्मको यसअघि हङकङमा प्रिमियर भइसकेको छ ।

फिल्म हेर्न नगरका प्रमुख दिलिपकुमार राई, वडा नं. १ का वडाध्यक्ष बाबुराम एक्तेन, १० नम्बर वडाध्यक्ष सागर राई, ६ नम्बर वडाध्यक्ष जय तामाङ, धनकुमार तामाङ, कमल हाङबाङलगायतको सहभागिता थियो । फिल्ममा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोककुमार राई, टिका राम राई लगायतको अभिनय छ ।