मुम्बई(एजेन्सी) । कोरोना भाइरससँग सम्बन्धित दिल्ली सरकारको एक विज्ञापन सामाजिक सन्जालमा विवादको विषय बनेको छ । यो विवादका कारण दिल्ली सरकारसँग सम्बन्धित अधिकारीका विरुद्ध कारवाही भइसकेको छ । डाइरेक्टर अफ सिभिल डिफेन्स(हेडक्वार्टर)का एक वरिष्ठ अधिकारीलाई सरकारले निलम्बन गरिसकेको छ । दिल्ली सरकारले विज्ञापनलाई पनि फिर्ता लिएको छ । दिल्ली सरकारको यो विज्ञापनमा के त्यस्तो कुरा थियो, जसकारण एक अधिकारी निलम्बनमा परे भन्ने अहिले चर्चाको विषय बनेको छ ।
दिल्ली सरकारले आफ्नो एक विज्ञापनमा कोरोना भाइरसविरुद्धको युद्धमा सहभागी हुन आम मानिसलाई आव्हान गरेको थियो । विज्ञापनमा यो युद्धमा सहभागी हुनका लागि योग्यता पनि खुलाइएको थियो । जहाँ ‘भारतका नागरिक, वा सिक्किम, भूटान एवं नेपालका जनता र दिल्लीका नागरिक’ भनेर लेखिएको थियो । यो पंक्तिमा सिक्किमलाई छिमेकी देशसँग जोडिएर लेखिएको थियो, जुन कुरा विवादको विषय बन्यो ।
सिक्किम सरकारले यो विज्ञापनलाई लिएर आफ्नो कडा विरोध व्यक्ति गरेको छ । ‘सिक्किम सरकारले दिल्ली सरकारको यो विज्ञापनलाई निकै गम्भीर रुपले लिएको छ । जसलाई सिक्किमलाई एक विदेशी देशका रुपमा देखाइएको छ । सिक्किमका प्रमुख सचिवले राष्ट्रिय राजधानी क्षेत्र दिल्लीका प्रमुख सचिवलाई पत्र लेखेर यो गल्तीलाई सुधार्न र सिक्किमको जुन राष्ट्रिय भावनामा आहत भयो, त्यसलाई ध्यानमा राखेर कदम चाल्न माग गरिएको छ’ सिक्किम सरकारको आधिकारिक ट्विटर हेण्डलमा लेखिएको छ ।
यसका अलावा सिक्किम सरकारका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि यो मुद्धामा आफ्नो विरोध जनाएका छन् । उनले सामाजिक सन्जालमा ‘सिक्किम सन् १९७५ देखि भारतको हिस्सा हो’ भनी लेखेका छन् । ‘दिल्ली सरकारको विज्ञापनमा सिक्किमका मानिसलाई अलग्गै सम्झिएर उसको तुलना नेपाल र भूटानसँग गरिनु खेदपूर्ण, आपत्तिजनक र भारतको संघीय ढाँचाका लागि नोक्सानपूर्ण छ’, उनले लेखेका छन् ।
यो मामलामा विरोध भएपछि दिल्लीका मुख्यमन्त्री केजरीवाल र एलजी अनिल बैजलले यो विज्ञापनको प्रकाशनको जिम्मेवार अधिकारीलाई निलम्बन गरिएको सूचना जारी गरेका छन् । केजरीवालले आफ्नो ट्विटर एकाउन्टमा ‘सिक्किम भारतको अभिन्न अंग हो । यस किसिमको गल्तीलाई स्वीकार्न सकिन्नँ । विज्ञापनलाई फिर्ता लिइएको छ र सम्बन्धित अधिकारीका विरुद्ध कारवाही शुरु भएको छ’ भनी लेखेका छन् ।