दिमाग खराबमा शनिबार शतप्रतिशत अकुपेन्सी

काठमाडौं । शुक्रबार सुखद् सुरुवात गरेको फिल्म ‘दिमाग खराब’ले शनिबारको बिहानी शोमा ४५ प्रतिशत दर्शकको साथ पाउँदा साँझसम्म पुग्दा शतप्रतिशत अकुपेन्सी सहित हाउसफूल दर्शकको साथ पाएको छ । तिहारको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले शनिबार अधिकांश हलका अनलाइन साइटमा हेर्दा बिहानदेखि रातीसम्मका शोमा दर्शकको चाप देखिएको हो।

शनिबार बिहानी शोबाटै हाउसफुलका दर्शकसहित फिल्म हेर्ने भिड हलमा देखिएको थियो । शनिबार बिहानी शोबाट नै फिल्मका कलाकारहरु कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सुमन कार्की, कार्यकारी निर्माता सुरज बम ठकुरी र निर्देशक निश्चल बस्नेत दिनभर राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।

निर्देशक निश्चल बस्नेतले शुक्रबार सुखद् अकुपेन्सी पाएपनि फिल्मले दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ मिलेकाले शनिबार हलमा दर्शकको चाप उच्च देखिएकाले आइतबारबाट परेको तिहारको बिदामा फिल्मले राम्रो व्यापार गर्ने विश्वास सहित मनको डर हटेको बताए । उनले अब फिल्म निर्माणमा ग्याप नराख्ने र अर्कोवर्ष सम्भवत अर्को फिल्म ल्याउने प्रयास रहने बताए ।

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म हेरेका दर्शकबाट राम्रो प्रतिक्रिया पारेका र धेरै दर्शक दोहोर्‍याएर परिवारसहित हलमा आएको पाएको बताइन् । कलाकार सुमन कार्कीको क्यारेक्टरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । पहिलो पटक िपःद्मायम काम गरेकाले पनि दर्शकबाट पाएको माया र साथ प्रति आभारी रहेको बताए ।

दर्शक साक्षात्कार गर्न कलाकारसहित निर्माण टिम हलमा पुग्दा दर्शकको हुटिङ पाउनुका साथै कलाकारसँग सेल्फी खिच्न चाहने दर्शकको चाप निकै देखिएको थियो । फिल्म हेरेर हलबाट निस्किँदै गर्दा अधिकांश दर्शकले निर्माण टिमसँग ‘दिमाग खराब’को सिक्वेलको डिमाण्ड गरिरहेका थिए । वितरक गोबिन्द शाहीले शनिबार काठमाडौं उपत्यकामा मात्रै नभई देशैभरी सिनेमाले आक्रामक व्यापार गरेको बताएका छन् ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गरेका छन् ।