काठमाडौं । फिल्म ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको तस्बिर सार्वजनिक भएको छ । उनको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको हो । उनको लुक्स हेर्दा बलिउड फिल्म ‘पीके’का आमिर खानको लुक्सको सम्झना गराउँछ ।
फिल्मका प्रस्तुतकर्ता विराज विष्टले पुष्पको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक गर्दै उनले फिल्मकै लागि कठोर मेहनत गरेर शरीर बनाएको बताएका छन् ।
विराजले फिल्म प्रदर्शनपछि पुष्पले १५ वर्ष नेपाली फिल्म उद्योगमा पछि फर्किएर हेर्नु नपर्ने बताएका छन् । पुष्पले यो फिल्ममा अनुबन्ध हुने कागजी सम्झौता गर्दा रगतको औँठा छाप लगाएका थिए ।
फिल्मको अहिले काठमाडौंका विभिन्न ठाउँमा छायांकन भइरहेको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु भएको फिल्मको छायांकन सेड्युल ७० दिनको छ ।
परिच्छेद सेनको निर्देशन रहेको फिल्ममा नबराज थापाको छायांकन छ ।
फिल्ममामा पुष्पसहित आर्यन सिग्देल, रमेश उप्रेती, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, सुशील सिटौला, पूजना प्रधान, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डिसी, गजित विष्ट, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटालगायतको अभिनय छ ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममा निर्देशक सेनकै लेखन तथा रवि खड्का र टोपेन्द्र विष्टको निर्माण छ ।





