तीजमा काठमाडौंमा गुञ्जिँदै दीपा नारायण

काठमाडौं । तीज गीत ‘तिजको रहर आयो बरिलै‘की गायिका दीपा नारायण झाको यस पटक आगामी २० भदौमा काठमाडौँका बाँसबारीस्थित रमायल भेन्युमा गुञ्जिने भएकी छन् । ‘तिजको रहर आयो बरिलै‘तिज विशेष साँगीतिक कार्यक्रमको आयोजकमा साधना कला केन्द्रसँगै नेपाल सांगीतिक संघ पनि रहेको छ । यो सांगीतिक कार्यक्रममा दीपा नारायणले आफ्ना डेढ दर्जन कालजयी गीतहरू प्रस्तुत गर्नेछिन् ।

दीपा नारायण झाको सांगीतिक कार्यक्रम दुई समयमा आयोजना हुने आयोजक संस्था साधना कला केन्द्रका अध्यक्ष एवम् संगीतकार मिलन मोक्तानले बताए । मोक्तानको अनुसार आम सर्वसाधारण दर्शकका लागि भदौ २० गते शनिवार दिउँसो ३ बजेदेखि अपराह्न ५ः३० बजेसम्म रमालयका बगैँचा परिसरमा तिज उत्सव गरिँदै छ । जहाँ १५ सय रुपैयाँको टिकटमा दर्शकले दीपा नारायण झाको गीतमा नृत्य गर्दै रमाउन सक्ने छन् । उनीहरूले त्यहाँ स्नाक्स पनि पाउने छन् ।

यो दिउँसोको साँगीतिक कार्यक्रममा दीपा नारायण झालाई विभिन्न स्वरमा साजन लामा, सञ्जय तुम्रुक, रूपक चौधरीले साथ दिनेछन् । यो कार्यक्रममा अभिनेता एवम् गायक प्रकाश सपुतले आफ्ना केही चर्चित तिज गीतहरू प्रस्तुत गर्ने भएका छन् ।

कार्यक्रममा दीपाले तिजको रहर आयो बारीलै सहित भुली गए सम्झनालाई कुुसुमे रुमाल, मायाको बारीमा प्रीतिको फुल, चाहन्छु म तिमीलाई नै, इशाराले बोलाउनु पर्दैन, हिमाललाई साँची राखी आऊ मिठो बाचा गरौँ, सुन भन न जुन हेर न, बनमाराले बनै खायो, कालो चश्मा लाउ है माया विशाल बजारको, वर्षा तिमी छमछम गरी वर्षि देउन, बनमा फुल्यो फुल, कसैलाई नसोधी तिमी मन पराएँ, घमाइलो रमाइलो कोसी तिरैमा, चरीको घर गुँडैमा भए, तिर्खा लागे निरमाया, झुटो हैन यो कुरा साँचो छ, त्रिसुली बगेर मर्स्याङ्दी झरेछ जस्ता थुप्रै चर्चित गीतहरू सुनाउनेछिन् ।

दीपा नारायणको एकल तिजको रहर आयो बरिलै‘विशेष सांगीतिक साँझ भने रमालयको मुख्य हल भित्र बेलुका ६ः३० बजेदेखि ८ः३० बजेसम्म आयोजना हुने भएको छ । तिजको दर खाँदै दर्शकले दीपा नारायणका चर्चित गीतहरूमा मनोरञ्जन लिन पाउने छन् ।

विशेष सांगीतिक साँझमा दीपा नारायण झासँग पुरुष गायनमा प्रदीपराज पाण्डे, प्रकाश सपुत, सञ्जय तुम्रक र रूपक चौधरी प्रस्तुत हुने भएका छन् ।