काठमाडौं । निर्देशक सौरभ चौधरीको फिल्म ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो ।
एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुने फिल्मको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ । फिल्मको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ ।
फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा देखिँदैछन् । फिल्ममा अभिनेता सौगातले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवनलाई देखाउनेछन् ।
फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका हुन् । फिल्म डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ । प्रवेश चौधरी र निला देव निर्माता रहेको फिल्ममा विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् ।
मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकमा छन् । डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटीमा टौवा स्टुडियो तथा वितरक डिसीएन रहेका छन् ।








