विवेक ओबरोयको जन्मदिनमा २६ करोडको घोषणा

काठमाडौं । बलिउड अभिनेता विवेक ओबेरोयको जन्मदिनको अवसर पारेर नेपाली फिल्म ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार साँझ भारतको मुम्बईस्थित पाँचतारे होटल ताज ल्याण्ड्स एन्डमा क्यान्सर पीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसनले आयोजना गरेको ‘रोज डे’ समाहरोहका बिचफिल्मको घोषणा गरिएको हो ।

कार्यक्रममा फिल्मको मुख्य अभिनेत्रीमा साहारा आर शाहलाई अनुबन्ध गरिएको छ । कार्यक्रममा निर्माता सुवास भुसाल र नव–नायिका शाहका बीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ। शाहले अनुपम खेरको एक्टर प्रिपेयर्स एक्टीङ्ग एकेडेमीमा अभिनय सिकेकी हुन् ।

अभिनेता ओबेरोयले लामो समयदेखि शाहको अभिभावकत्व सम्हाल्दै आएका छन् । शाह ३ वर्षको उमेरदेखि नै क्यान्सर रोगसँग संघर्षरत थिइन् । क्यान्सरलाई जितिसकेकी शाहलाई क्यान्सर पेसेन्ट्स एड एसोसिएसनमार्फत अभिनेता ओबेरोयले स्वास्थ्योपचार, शिक्षा र संरक्षकत्व प्रदान गर्दै अएका छन् ।

‘मैले साहारालाई क्यान्सरसँग लड्दै गरेको एउटा सानो बच्चाको रूपमा देखेको थिएँ। आज उनले क्यान्सरलाई जितेर फिल्मको मुख्य नायिकाको रूपमा सम्झौता गरिरहँदा म शब्दमा बयान गर्न नसकिने गरी भावुक भएको छु,’ विवेकले भने ।

सामाजिक विषयवस्तु माथी निर्माण हुने फिल्ममा विकास सुवेदीको लेखन तथा निर्देशन रहनेछ । निर्देशक सुबेदीले शाह अडिशन मार्फत फिल्ममा छनोट भएको जानकारी दिँदै कथा अनुसार हिन्दी लवजकी नायिका आवश्यक भएकोले पनि शाह छनोट भएको खुलाए ।

यसअघि नै फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का अनुबन्धित भइसकेका छन् । किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी नोभेम्बर–डिसेम्बरमा नेपालको जुम्ला र काठमाडौँ तथा भारतको मुम्बई र केदारनाथका विभिन्न स्थानहरूमा गरिने निर्माता भुषालले बताए ।

कर्णली फिल्म फेष्टिवलका अवसरमा फिल्मको छायांकन कर्णालीमा गर्ने सम्झौता भएको थियो । सोही अनुरूप फेष्टिवलका निर्देशक चक्रबहादुर चन्दको संयोजनमा मुम्बईमा फिल्म निर्माणको घोषणा गरिएको हो ।