काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘बाः एक योद्धा’ले काठमाडौंमा मंगलबार साँझ गरेको प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । पछिल्लो समय रोजगारी, अध्ययन तथा विभिन्न अवसरको खोजीमा सन्तान विदेशिने क्रम बढ्दै जाँदा घरमा रहेका वृद्ध बुवाआमाले भोग्ने एक्लोपन, उपेक्षा र पारिवारिक दूरीलाई फिल्मले उठाएको भन्दै फिल्मकर्मीले तारिफ गरे ।
अभिनेता हरिवंश आचार्यले फिल्मले वर्तमान समाजमा युवाहरूको बढ्दो अपेक्षा र पलायनसँगै बुवाआमाले सन्तानका लागि गर्ने त्यागलाई प्रस्तुत गरेको भन्दै फिल्म हेरिरहँदा आफू भावुक बनेको खुलाए ।
पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले फिल्मलाई उत्कृष्ट फिल्मका रूपमा व्याख्या गर्दै फिल्मको कथावस्तु, प्रस्तुति र सन्देश तीनवटै पक्ष आफूलाई प्रभावकारी लागेको बताए ।
अभिनेत्री ऋचा शर्माले अभिनेत्री झरना थापाको अभिनयको प्रशंसा गर्दै सुहाना थापामा पनि अभिनयको निखार क्रमशः बढ्दै गएको बताइन् । फिल्मको मुख्य आकर्षणका रूपमा उनले अभिनेता दिव्यदेवलाई उल्लेख गरिन् । फिल्म ‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पा थिङ लामाले पनि फिल्मले आफूलाई भावुक बनाएको बताइन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।








