काठमाडौं । गीतकार सङ्घ नेपालले १७ औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न स्रष्टाहरुलाई ‘सम्मान तथा पुरस्कार प्रदान गरेको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आइतबार आयोजित कार्यक्रममा गीतकार किरण खरेल प्रमुख अतिथी थिए भने कार्यक्रमको सभापतित्व गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले गरेका थिए ।
कार्यक्रममा गीतकार नीर शाहलाई एक लाख ५१ हजार रुपैंयाँ राशिको ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’, नीलम आङबुहाङ राईलाई १५ हजार रुपैंयाँ राशिको ‘डायस्पोरा गीतकार सम्मान’, लोहोराङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राईलाई २५ हजार २ सय ५२ रुपैंयाँ राशिको ‘बिष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’, गीतकारद्वय सुशीला पौडेल र अरुण तिवारीलाई जनही १५ हजार रुपैंयाँ राशिको ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान – २०८२’, हिमालय टाइम्सका उपसम्पादक पत्रकार कृष्ण भुषाललाई ५ हजार ५ सय ५५ रुपैंयाँ राशिको ‘गीतकार संघ नेपाल पत्रकारिता सम्मान–२०८२’ प्रदान गरिएको थियो ।
त्यस्तै यस बर्ष ‘जगतमर्दन थापा बर्ष गीति पुस्तक पुरस्कार २०८२’ कल्पना खरेलको कृति ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालको कृति ‘भोलीको आश उज्यालो प्रकाश’लाई नगद रु। ५७,००० सहित प्रदान गरियो भने भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कारबाट ५७,००० नगद सहित गीतकारद्वय डम्बर याक्सो ‘म तिम्रो नजरमा’ र प्रवल विष्ट ‘भुल्न सकिनँ’ गीतबाट पुरस्कृत भए ।








