धनकुटामा हलीले मनायो प्रदर्शनको ५१ औं दिन

काठमाडौँ । गत साउन २२ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘हली’ ले धनकुटास्थित धनकुटा सिनेमा प्रालिमा प्रदर्शनको ५१ औँ दिन सफलतापूर्वक पूरा गरेको छ।

५१ दिन पूरा गरेको खुसीयालीमा दर्शकसँग प्रत्यक्ष भेटघाट र साक्षात्कार गर्न फिल्मका निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठसहित कलाकारको टोली हालै धनकुटा पुगेका थिए ।

निर्माता पूजा गुरुङले दर्शकको अपार माया र साथकै कारण फिल्मले हलमा ५१ औँ दिन मनाउन सफल भएको बताइन् । एउटा हलीले पनि देशको मुहार बदल्न सक्छ’ भन्ने सकारात्मक सन्देश बोकेको यस चलचित्रमा छाउपडी प्रथाका क्रममा २१ दिनसम्म बुवा वा पुरुषको अनुहार हेर्नु हुँदैन भन्ने अन्धविश्वास र सामाजिक कुसंस्कारको कथा प्रस्तुत गरिएको छ।

ओमप्रतिकको लेखन तथा निर्देशन रहेको फिल्ममा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, र विशाल पहाडी लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।