काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको फिल्म ‘छत्तीसको आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । गत सोमबार अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर फिल्मको रिलिज मिति घोषणा गरिएको हो ।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको पहिलो प्रचारप्रसार सामाग्रीका रुपमा यसको गीत घटस्थापनाका दिन रिलिज गर्ने निर्माण पक्षको तयारी छ ।
निर्देशक सबिर श्रेष्ठको निर्देशन रहेको फिल्ममा दुई महिला पात्र रेखा थापा र पूजा शर्माको द्वन्द्वलाई प्राथमिकता दिइएको छ । यसअघि सार्वजनिक गरिएको पोस्टरले पनि यी दुई अभिनेत्रीबीचको पर्दाको टकरावलाई संकेत गरेको थियो ।
पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा देखिएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ । फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निरुता सिंहको मुख्य अभिनय छ ।
फिल्ममा रेखाको जोडीका रूपमा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने पूजासँग अभिनेता पुष्प खड्का फिचर हुनेछन् । फिल्म ‘दुई पल’पछि रेखा र निरुताले पुनः सहकार्य गर्न लागेका हुन् ।
फिल्मको वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।







