काठमाडौं । निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘थाक खोला’ सार्वजनिक भएको छ । बाँसुरी फिल्मस्को अफिसियल युट्युबमार्फत निर्माण टिमले गीत सार्वजनिक गरेको हो ।
कालीप्रसाद बास्कोटाको स्वर रहेको गीतमा कालीकै शब्द र संगीत छ । गीतको मिक्सिङ तथा मास्टरिङ, संगीत संयोजन, गिटारवादन रिकेश गुरुङ किजको रहेको छ । त्यस्तै गीतको सारंगीमा हेमन्त कान्छा रसाइली र बेश गिटारमा कृष्ण लिम्बूले साथ दिएका छन् ।
गीतको भिडियोमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन् । भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको रमाइलो नोकझोक, प्रेम र सम्बन्धका भावनात्मक पाटोलाई देखाइएको छ ।
भिडियोमा थाक खोलादेखि सेताम्य हिमाल र हरियाली डाँडापाखासम्मका दृश्य देखाइएका छन् । यसअघि सार्वजनिक टिजरले राम्रै चर्चा पाइरहेको छ ।
फिल्म विजया दशमीको भोलिपल्ट कात्तिक ६ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।
नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।






