काठमाडौं । मिनु शर्मा प्रोडक्सनको प्रस्तुति, शिवम अधिकारीको लेखन तथा निर्देशनमा फिल्म ‘सेतो कोट’ निर्माण हुने भएको छ। कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा पूजाआजा गर्दै फिल्मको मुहुर्त गरिएको थियो । मुहूर्त सटमा अशोक दर्जी र पूजा शर्माले संवाद बोल्दै गर्दा नीर शाहले निर्देशन गरे । शोभित बस्नेत क्ल्यापमा हुँदा क्यामेरामा पत्रकार सरिता भारती थिइन् भने नरिवल फुटाउन भिलेन सुशान्त श्रेष्ठ थिए ।
निर्माता मिनु शर्माले आफ्नो पहिलो फिल्म सफल भए पनि आफू जहाँको त्यही रहेको भन्दै अब भने आफू समेत सफल हुने अपेक्षा गरेको बताइन् । फिल्ममा डेब्यु गर्दै गरेकी ‘माइली बुहारी’ नामले परिचित सुमित्रा दाहालले आफूलाई हँसाउन भन्दा रुवाउन नै सहज हुन्छ होला भन्दै निर्माताले कुरा गरेर फिल्ममा जोडिएको बताइन् ।
फिल्मका निर्माता मिनु शर्मा ‘सपना’ तथा सन्देश थापा ‘काजी’ रहेका छन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्। फिल्ममा नीर, अशोक, पूजा, सुमित्रा सँगै पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे, सुप्रिया शर्मालगायतको अभिनय रहनेछ।
फिल्मको छायाङ्कन काठमाडौँ, मकवानपुरमा गरिनेछ। फिल्मको छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ। सङ्गीत स्टिभ शङ्करले तयार गर्नेछन्। हेड अफ प्रोडक्सन अरुण रेग्मी, मुख्य सहायक निर्देशक नवराज शर्मा, बजार व्यवस्थापन भावेश ढकाल, प्रचार सामग्री सञ्जीव खड्की, कला निर्देशन डुक्राज, सह निर्देशन दीप्त प्रकाश अधिकारी र एलियास मलिकको रहनेछ।







