दीपेन्द्रको आमा बन्दै सूर्यमाला

काठमाडौं । नेपालकै पहिलो फिल्म ‘आमा’को नाम सापटी लिएर नयाँ फिल्म ‘आमा’ बन्ने भएको छ । वि.सं २०२० साल र २०५१ सालमा बनेको ‘आमा’ पछि तेस्रो ‘आमा’ बन्न लागेको हो ।

दोस्रो संस्करण रिलिज भएको करिब २५ बर्षपछि निर्देशक दिपेन्द्र के खनालले ‘आमा’ नाम लिएर नयाँ फिल्म निर्देशन गर्न लागेका हुन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा फिल्मको घोषणा गर्दै शीर्ष भूमिकामा अभिनेत्री सूर्यमाला खनाल रहने जानकारी दिइयो । फिल्ममा खनालकै लेखन तथा छायांकन हुनेछ । असारमा छायांकन सुरु हुने फिल्मलाई फागूणको ९ गते रिलिज गर्ने निर्माणपक्षले बताएको छ । यो फिल्मले ‘आमा र छोरी’बिचको सम्बन्धलाई देखाउनेछ ।

सूर्यमालाले फिल्मको कथावस्तुले मन छोएपछि यो फिल्म गर्न कस्सिएको बताइन् । फिल्ममा सूर्यमालाको छोरीको रुपमा नायिका सुरक्षा पन्त देखिदैछिन् । फिल्ममा भूपेन्द्र खड्काको गीत रहनेछ ।

फिल्ममा देशभक्त खनाल, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि अभिनय रहनेछ । फिल्मको बिषयमा निर्देशक खनालले भने–‘पशुपति प्रसादपछि मनमा बस्ने यस्तो फिल्म आएन भनेर दर्शकको गुनासो सुनिरहेको छु । यसैले, अब बर्षमा एउटा दर्शकको मनमा बस्ने, समिक्षले पनि रुचाउने फिल्म बनाउने सोच आएको छ र म यो फिल्म बनाउन कस्सिएको हुँ ।’

दिपेन्द्रले एउटा इतिहास बोकेको टाइटललाई आफूले हरेक कोणबाट न्याय गर्ने दाबी गरे । यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । काठमाण्डौ र रामेछापको लोकेशनमा खिचिने फिल्मका सह–निर्माता सन्तोष अधिकारी हुन् ।