भान्जीसँग विवाह गर्दै प्रभु देवा

मुम्बई(एजेन्सी) । बलिउडका प्रख्यात डान्सर, कोरियोग्राफर तथा अभिनेता प्रभु देवा हालका दिनमा निकै चर्चामा छन् । उनी चाँडै नै दोस्रो विवाह गर्दैछन् । करिब ९ वर्ष अघि पत्नी रामलतासँग विवाद भएपछि अलग्गिएका प्रभुले चाँडै नै दोस्रो विवाह गर्न लागेका हुन् ।

समाचार अनुसार प्रभु हाल आफ्नो भान्जीसँग डेट गरिरहेका छन् । त्यहीकारण चाँडै नै उनले भान्जीलाई श्रीमतिको रुपमा घरमा भित्र्याउदैछन् । तर यसबारे प्रभु र उनको टिमले कुनै प्रतिक्रिया दिएको छैन । प्रभु हालका दिन सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाई’को निर्देशनमा व्यस्त छन् । उनी चाँडै ‘बघीरा’मा पनि देखिनेछन् ।

प्रभुले सन् १९९५ मा रामलतासँग विवाह गरेका थिए । रामलता इस्लाम धर्मको प्रतिनिधित्व गर्थिन् । विवाह पछि उनले हिन्दु धर्म अपनाइन् । यो जोडीबाट तीन सन्तान छन् । जसमा ठूलो छोरा विशालको सन् २००८ मा क्यान्सरका कारण निधन भएको थियो ।

त्यसपछि प्रभु अभिनेत्री नयनतारासँग सम्बन्धमा रहेको खबर आएको थियो । यो कुरा थाहा पाएपछि रामलता अनशनमा बसिन् । दक्षिणमा नयनताराको निकै विरोध भएको थियो । त्यसपछि नयनताराले प्रभुसँगको सम्बन्धलाई तोडिन् । सन् २०११ जुलाई ७ मा प्रभु र रामलताको सम्बन्धविच्छेद भयो ।