पुनमको मारुनीमा १३ गतेको संयोग

काठमाडौं । आगामी फागुनको १३ गतेबाट छायांकन सुरु गर्ने गरी फिल्म ‘मारुनी’को शुक्रबार राजधानीमा मुहुर्त गरिएको छ । पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतमले निर्माण गर्न लागेको यो फिल्मको छायांकन फिल्मका छाँयाकार सञ्जय लामा अर्को फिल्ममा व्यस्त भएपछि फागुन १३ मा सुटिङ सुरु गरिने निर्माण पक्षले जनाएको छ । फिल्म आगामी वर्षको भदौ १३ गते रिलिज हुनेछ ।

नवल नेपालले निर्देशन गर्ने फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्पल खड्का र रेविका गुरुङको अभिनय रहनेछ । रेविकाको यो ‘डेब्यु’ फिल्म हो । दर्शना केसी सहनिर्माता रहेको फिल्ममा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यको पनि अभिनय हुनेछ ।

निर्मात्री गौतमले एउटा फरक कथामा फिल्म बनाइने भएकाले दर्शकले साथ दिनेमा ढुक्क रहेको बताए । निर्देशक नवल नेपालले फिल्मले मनको कथा बोल्ने भएकाले फिल्म हेरिसकेपछि दर्शकलाई फ्रेस अनुभव हुने जनाए ।

मुहुर्तका लागि पहिलोपटक मन्दिर आएकी साम्राज्ञीले मन्दिर आएपछि आफ्ना सबै काम राम्रो हुन्छन् भन्ने आफु ढुक्क रहेको बताइन् । फिल्मका मुख्य नायक पुष्पल खड्का र नायिका रेविका गुरुङले पनि फिल्मको कथावस्तु राम्रो रहेको सुनाए । कार्यक्रममा कृष्ण गौतमले क्ल्याप हानेका थिए भने साम्राज्ञी आफैले मुहुर्त सर्टको निर्देशन गरेकी थिइन् ।

फिल्ममा निर्माणमा पुनमलाई अजय पोखरेल र राजा प्रधानले सघाउने छन् । हरि सिलवाल फिल्मको लाइन प्रोड्युसरको रुपमा रहेका छन् । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ ।