मल्पीमा अंकित साम्राज्ञी भावुक

काठमाडौं । नवअभिनेता अंकित शर्माले आफूले अध्ययन गरेको विद्यालयमा पुगेर विद्यार्थीसँग अन्तरक्रिया गरेका छन् । ‘रातो टिका निधारमा’बाट अभिनयमा डेब्यु गरेका नवअभिनेता शर्माले काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा सोमबार विद्यार्थीसँग अन्तरक्रिया गरेका हुन् ।

मल्पी स्कुलका प्रिन्सिपल र विद्यार्थीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अंकितले आफ्ना अनुभव सुनाएका थिए । १० कक्षासम्मको अध्ययन शिलशिलामा आफुले भोगेका र जानेका कुरा उनले विद्यार्थी सामु पेस गरे ।

यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले होस्टेलमा विताएका बाल्यकाल सम्झेर केहि भावुक भइन । उनले भावुक स्वरमा बाल्यकालको होस्टेल जीवन स्मरण गरिन् । आगामी शुक्रबारबाट रिलिज हुने फिल्मले रिलिजको लागि केहि दिन मात्र बाँकी रहँदा ’रातो टिका निधारमा’ टिमले मल्पी स्कुलबाटै कलेजरस्कुल यात्रा सुरु गरेको छ । मल्पी स्कुलका सदस्यले ’रातो टिका निधारमा’ टिमलाई सफलता र दशैँ(तिहारको पनि शुभकामना दिएका थिए ।

अशोक शर्माले निर्देशन गरेको सिनेमामा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।