बलिउडका प्रकाश भन्छन्ः नेपाल मेरो दोस्रो घर

काठमाडौं । बलिउड निर्देशक प्रकाश झाले नेपाल आफ्नो दोस्रो घर भएको बताएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा शुरु भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल(निफ)को उद्घाटनमा झाले फिल्म फेस्टिभल कलाको उत्सव भएको बताउँदै आफू नेपालमा संसारका विभिन्न देशका संस्कृति फिल्ममार्फत् हेर्ने उत्सुक रहेको जनाए ।

स्वदेशी तथा विदेशी फिल्मको फिचर विधाका मुख्य निर्णायकको जिम्मेवारी निर्वाह गर्न नेपाल आएका उनले फेस्टिभलका दौरान विदेशीसँगै नेपाली भाषाका पनि उत्कृष्ट फिल्म हेर्न पाउने आशा व्यक्त गरे । ४० वर्षदेखि फिल्ममा काम गरिरहेको बताउँदै उनले हरेक दिन इन्जोय गरिरहेको दाबी गरे । ‘४० वर्षदेखि फिल्ममा काम गरिरहेको छु, तर कुनै दिन यस्तो छैन जहाँ मैले यो काममा इन्जोए नगरेको हुँ,’उनले आफू नेपालको बोर्डरमा जन्मिएको बताउँदै नेपाल दोस्रो घर जस्तै लाग्ने गरेको खुलाए । ‘म बिहारमा जन्मिएको हुँ, जहाँ नेपालको बोर्डर पथ्र्यो । हामी त के हाम्रा गाइबस्तु पनि चर्नलाई नेपाल जान्थ्यौं । यसरी नेपालसँगको नाता गहिरो भएपनि काठमाडौं आएको भने पहिलो पटक हो । फिल्मका कारणले आउन पाउँदा दोब्बर खुशी लागेको छ,’ झाले भने ।

कार्यक्रमको शुभारम्भ गर्दै सभामुख अग्नी सापकोटाले फिल्म सांस्कृतिक पहिचानको मुख्य माध्यम भएको बताएका थिए । उनले फेस्टिभल जीवन्त र सजिव अन्तक्र्रिया हुने थलो भएको बताउँदै महोत्सवले गुणस्तरीय फिल्म निर्माणमा नेपाली फिल्ममेकरलाई प्रेरित गर्ने जनाए । बिहीबार सुरु भएको फेस्टिभल ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाममा चल्नेछ । फेस्टिभलमा सहभागिताका लागि ४० देशका फिल्मकर्मी नेपाल आइपुगेको अध्यक्ष केपी पाठकले बताए । उनले नेपालमा फिल्म संस्कृतिको निर्माण गर्ने उद्देश्यले फेस्टिभल सुरु गरेको जनाउँदै महोत्सवको नयाँ संस्करणमा देखाइने फिल्म तथा छलफलले नेपाली फिल्मलाई विश्वबजारमा पुर्याउन ठोस योगदान गर्न सक्ने धारणा राखे ।

फिल्मकर्मी नीर शाहले संसारभरका फिल्मलाई फिल्मबाटै खतरा रहेको बताएका थिए । ‘फिल्मका नाममा बनेका फिल्मबाट नै वास्तविक फिल्मलाई खतरा छ । त्यस्ता ननएक्सप्रेसिभ फिल्मलाई एक्लै लडेर जित्न सकिन्न । सामूहिक रुपमा लड्नु पर्छ र महोत्सव यसरी लड्ने प्लेटफर्म हुन सक्छ ।’ उनले भने । उद्घाटनको अवसरमा चाइनीज फिल्म ‘कम्पोजर’ देखाइएको थियो । महोत्सवको दोस्रो दिन डिजिटल फिल्म सम्बन्धी वर्कसपसँगै विभिन्न फिल्म प्रदर्शन हुनेछन् ।