ग्रामीण चलचित्र महोत्सवमा १७ फिल्म छनोट

काठमाडौं । शुक्रबारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले ३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्म छनोट गरिएको बताए ।

बिहीवार काठमाडौंमा आयोजित ‘प्रि–इभेन्ट’ कार्यक्रममा महोत्सवमा छनोट भएका फिल्मबारे जानकारी दिनुका साथै ति फिल्मका सदस्यलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । साथै, आयोजकले जुरी टिमलाई समेत चिनाएको छ । नेपाल चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा, अभिनेता सुवास गजुरेल र सम्पादक भरत रेग्मी जुरी टिममा छन् ।

शुक्रवार र शनिवार हुने महोत्सवमा गतवर्षको हिट फिल्म ‘झिंगेदाउ’देखि ‘प्रकाश’सम्म प्रदर्शन गरिनेछ । त्यस्तै, फिल्महरू ‘डेसान’, ‘ल्हुई’, ‘निरमाया’, ‘चरित्र’, ‘आफ्नै कर्म’, ‘मेरी हजुरआमा’, ‘साईत’, ‘सेती दिदी’, ‘कहानी एकादेशको’, ‘परिवर्तन’, ‘दुर्गामाण्डु’, ‘ऐना’, ‘हुक्का’ महोत्सवमा प्रदर्शन गरिनेछ । साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को भने महोत्सवमा प्रिमियर हुनेछ ।

महोत्सवमा लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ समेत त्यहाँ हुँदैछ । त्यस्तै, अभिनेता बुद्धि तामाङ र मुकुन भुसालले ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ विषयमा विद्यार्थीहरूसँग भलाकुसारी गर्नेछन् । महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय ३ जना कलाकारहरूलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

उत्कृष्ट फिल्मलाई अवार्डसहित पुरस्कार वितरण गर्दै शनिवार बेलुका महोत्सव समापन गरिनेछ । चलचित्र विकास बोर्डसँगको सहकार्यमा हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्मकर्मीहरू सहभागी हुनेछन् । महोत्सवको पहिलो संस्करण गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा गरिएको थियो । हल नभएका ग्रामीण क्षेत्रका दर्शकलाई लक्षित गर्दै यो महोत्सवको सुरुवात गरिएको हो ।