काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ । गण्डकी क्षेत्रमा प्रचलित कौडा शैलीको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर तथा सुरेन्द्र रानाको शब्द छ । गायक एसडी योगीकै संगीत रहेको गीतका संगीत निर्माता रिकेश गुरुङ (किज) हुन् ।
उपासना सिंह ठकुरी र सोनम तोप्देन फिचर्ड गीतमा रत्न बीकेको बाँसुरी, मादल तथा खैंजडीमा मदन रेग्मी, पञ्चेबाजा शिशिर परियार र सारंगी हेमन्त कान्छा रसाइलीले बजाएका छन् । गीतको भिडियोमा सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरको कोरियोग्राफी छ ।
भिडियोमा अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगर, भावना मगर, प्रवेश राईलाई पनि देख्न सकिन्छ । यसअघि सार्वजनिक गीत ‘चाँदी चलप’लाई दर्शकले मनपराइसकेका छन् ।
फिल्ममा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु) लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।
शैलेन्द्र डी कार्कीको छायांकन रहेको फिल्म आगामी मंसिर ४ गतेबाट रिलिज हुँदैछ । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर, राधा थापा र सुस्मिता बुढाथोकी रहेका छन् ।
फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।








