काठमाडौं । मंसिर १८ लाई रिलिज मिति तोक्दै फिल्म ‘सिन्दुरे जात्रा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख दुई कलाकार विजय बराल र अञ्जना बराइलीलाई भावुक मुद्रामा देखाइएको छ । विजयको छातीमा टाँसिएकी अञ्जना रोइरहेकी छन् भने विजयको पनि आँखामा आसु छ ।
पोस्टर हेर्दा गाउँले परिवेशको जनजीवनमा रहेका पात्र कुनै मेला वा महोत्सवमा पुग्दा भेटिएर अंकमाल गरेको बुझ्न सकिन्छ । पृष्ठभूमिमा देखिएको मन्दिर र त्यसमा लागेको भीडले जात्रामा सहभागी हुने गएको जोडी कुनै समस्यामा फसेको जस्तो देखिन्छ ।
फिल्मका निर्देशक सरोज पौडेल हुन् । ब्लकबस्टर जोडी विजय र अञ्जनाको ‘पूर्णबहादुरको सारङ्गी’पछि दोस्रो सहकार्य हो । फिल्ममा विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको पनि अभिनय छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा छ । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । सह(निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन् । यस फिल्ममा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत छ । फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ ।







